काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान आज मंसीर २१ गते विहीवार विहान ७ बजेवाट सुरु भएको छ। सांझ ५ बजेसम्म मतदान गर्न सकिन्छ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान सुरु भएको हो।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६ सय ६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्ययसैगरी प्रदेशसभातर्फ २ हजार ८ सय १९ जना उम्मेदवानर प्रतिस्पर्धामा उत्रिएका छन्। मतदानका लागि ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाता सहभागी हुँदै छन्।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ। पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो। आज तराईका सबै र पहाडका जिल्लामा मतदान भैरहेको छ। प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन्।

प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन्। जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्य संख्या फरक छन्। दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै भइरहेको छ।

यसैबीच निर्वाचन आयोगले विगतमा गरिएको अभ्यास जस्तै मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ।

त्यस्ता व्यक्तिले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउने छन्। प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुन बमोजिम सजाय हुने बताएका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।