काठमाडौ। नेपालको नामवाट स्थापना भएको एकमात्र पार्टी नेपाःराष्ट्रिय पार्टी मात्र भएको दावी गरिएको छ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाःराष्ट्रिय पार्टीले आफ्नो चुनावी घोषणा जारी गर्दै उक्त कुराको दावी गरेको हो।

काठमाडौको नयाँबजार लिंकरोड स्थित नेपाःब्यांक्विटमा आयोजित पत्रकार सम्मेलनमा ‘विकास र समुन्नतिको आधार विभेदरहित समाजको निर्माण’नाराका साथ नेपाः राष्ट्रिय पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीपद्धति स्वीकार्ने उल्लेख रहेको घोषणपत्रमा प्रदेश नम्बर ३ को नामाकरण ‘नेवाः–ताम्सालिङ’ राख्न प्रयास गर्ने, नेपाल सम्वतको सरकारी कामकाजमा प्रयोग, मिश्रित अर्थतन्त्र, स्वदेशमै रोजगारको सृजना, कृषिमा आधारित उद्योगको विकास, अनिवार्य मातृभाषा शिक्षा, राष्ट्रिय सम्पदा पुनस्र्थापना, काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गर्ने उल्लेख छ।

त्यसको अलावा महिला, गरिबीको रेखामुनि रहेका, अशक्त, असहाय, अपांगता भएका नागरिकको विशेष व्यवस्थाका लागि भूमिका खेल्ने उल्लेख छ। घोषणापत्रमा सडक, फोहरमैला, यातायात, पानी व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख छ भने बालअधिकार तथा मानव अधिकार सुनिश्चित गर्न दृढ भई अगाडि बढ्ने पनि घोषणासमेत गरिएको छ।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैँजुले काठमाडौं जिल्ला प्रदेशसभा क्षेत्र नम्बर–७ (कं)बाट उम्मेदवारी दिएका छन् भने सोही जिल्लाको क्षेत्र नम्बर–८ (क)मा रामहरी रंजित, क्षेत्र नम्बर–१० (ख)मा विष्णु गोपालीले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभाका लागि काभ्रे क्षेत्र नम्बर १ मा सुन्तलाकाजी श्रेष्ठ र काठमाडौं क्षेत्र नम्बर–९ मा खगेश रंजितकारले उम्मेदवारी दिएका छन्। समानुपातिकतर्फ ३१ उम्मेदवारको सूची दर्ता गराएको पार्टीले जनाएको छ।

घोषणापत्रमा संविधान संशोधनमार्फत आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम, खस, थारु, अल्पसंख्यक, अपांगता भएकाको अधिकार सुनिश्चित गर्न पार्टीले भूमिका खेल्ने पनि भनिएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।