काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा टान, नाटा र नेपाल पर्वतारोहण संघको सहयोगमा नेपालको पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा हुने भएको छ।विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा हुने भएको हो।

भोलि कात्तिक १७ गते सोमवारवाट सुदूरपश्चिमको महेन्द्रनगर मेची–महाकाली साइकल यात्रा शुरु हुने भएको छ। साइकल यात्रा पूर्वको काँकडभिट्टा पुगेर २४ औं दिनमा समापन हुने जनाएको छ। यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको छ।

कोरोना महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई यो साइकल यात्राले उत्थानमा सहयोग पुग्ने विश्वास लिएको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ। साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित लक्ष्मी श्रेष्ठ, राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, सीएन पान्डेलगायत रहने छन् ।

सोे टोली पश्चिम महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, बागलुङ, पोखरा, नारायणघाट, हेटौंडा, सिन्धुलीगढी, जनकपुर, गाईघाट, धरान, ईटहरी, विराटनगर, दमक, विर्तामोड हुँदै काकडभिट्टा पुग्ने छ।

पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुने छ। महाकाली–मेची साइकल यात्राको उदघाटनमा १५ जना मात्रै सहभागी भए पनि बिभिन्न स्थानमा पुग्दा स्थानीय साइकल यात्रीहरुको पनि सहभागीता रहने छ। कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई मात्र यात्रामा सहभागी हुने जनाएको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक १६ गते आइतवार ।