काठमाडौं। नेपालको विकट तथा दूर्गम जिल्ला मानिएको हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा नेपालीहरुको महान पर्व दशैंको विदा सकेको लगतै बुधबारदेखि पठनपाठन शुरु भएको छ। कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय बुधवार देखि खुल्ला भएपछि पठनपाठन शुरु भएको हो।

कान्तिपुर दैनिकको समाचार अनुसार, गाउँपालिकाकै वडा नंबर ६ लिमीमा रहेका तीनवटा विद्यालय भने कोरोना कहरमा पनि बन्द भएका छैन्। सरोकारवालाहरुसंग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष तेमा तामाङको भनाई रहेको छ। नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) छन्।

तामाङका अनुसार सबै विद्यालयमा गरेर १ हजार ६० विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र विद्यार्थीको पढाइ पनि बिथोलिएकाले दशैं–तिहारको बीचमा पनि पढाई शुरु गरिएको उपाध्यक्ष तामाङले बताएका छन्। यालबाङस्थित महाबौद्ध माविका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले स्वास्थ्यका सुरक्षा सावधानी अपनाएर पठनपाठन शुरु गरिएको भनेका छन्।

थापाका अनुसार गाउँपालिका बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको पीसीआर परीक्षण गरिनेछ। उक्त आवासीय विद्यालयमा ३ सय २० जना विद्यार्थी अध्ययनरत छन्। कर्णालीका अन्य हिमाली क्षेत्रमा जस्तै नाम्खामा पनि फागुनदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ।

अब शैक्षिक सत्र सकिन साढे ३ महिनामात्र बाँकी छ । यही अवस्थालाई मध्यनजर गर्दै सदरमुकाम सिमकोटस्थित मानसरोवर माविमा पनि कात्तिक १८ गतेदेखि पठनपाठन शुरु हुने भएको छ। सो विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ । प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालयमा सेनिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण पनि गरिने बताएका छन्।
प्रकाशन मिति–२०७७ साल कात्तिक १२ गते बुधवार ।