काठमाडौ। नेपालको मौलिक संवत नेपाल संवत अनुसारको आजवाट नयाँ बर्ष शुरु भएको छ। नेपाल संवत ११४० आजवाट पूरा भएर नयाँ बर्ष नेपाल संवत ११४१ आजबाट शुरु भएको छ।तिथिमिति अनुसार चल्ने नेपाल संवत केवल नेवारहरुको मात्र संवत नभइकन सवै नेपालीहरुको मौलिक संवत हो।

यसै संवतको तिथिमिति अनुसार नै जन्म, मृत्यु, विवाह तथा जात्रा–पर्व मनाइने भएको कारण नेपाल संवतलाई सवैले आफ्नो संवत भनेर मान्नु पर्दछ। नमानेपनि थाहै नपाइकन कुनै जन्म, मृत्यु संस्कार लगायत जात्रा–पर्व मनाउंदा यही संवत अनुसार मनाउने कार्य आम नेपालीहरुले गदैैआएको छ। यसर्थ, यो नेपाल संवतलाई आम नेपाली सवैले आफ्नो मौलिक संवतको रुपमा मनाउन आवश्यक छ। यस अवसरमा केवल नेवारहरुको मात्र संवत भनेर नेवारहरुले मात्र मनाउने संवतको रुपमा मान्न नहुने सवै विव्दान विज्ञहरुको भनाई छ।

नेपाल संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ। त्यसैले कात्तिक कृष्ण औंशीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने मौलिक परम्परासमेत रहेको छ। राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो।लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नेपाल संवतलाई प्रचलनमा ल्याएको मानिन्छ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म नेपालको राष्ट्रिय संवतको रुपमा मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरको जिकिर तथा दावी रहेको छ। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो। लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् मौलिक छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना पेश गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै विसं.२०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विक्रम संवत् २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। तर, अझै व्यवहारमा भने लागू गर्न स्वयम् शासक र प्रशासकहरु मौन बसेको पाइन्छ।

आज नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले शुभकामना सन्देश दिएका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर १ गते सोमवार (कात्तिक शुक्लपक्ष प्रतिपदा नेपाल संवत ११४१)