Jay Shrestha with Narayan Devi Pradhan & Ram Krishina Dhinaकाठमाडौ। नेपालभाषाको चलचित्रका प्रथम नायक जय श्रेष्ठलाई नेपाल संकिपा समाजले शुक्रबार एक समारोहका वीचमा सम्मान गरेको छ। नेपालभाषाको प्रथम नायकको उपाधिसहित नायक श्रेष्ठलाई उक्त सम्मान दिइएको आयोजक समाजले भनेको छ। सोही समारोहमा नेपालभाषाका रंगमंचदेखि चलचित्रसम्म विगत पैतालिस बर्षदेखि निरन्तर योगदान दिदैआएका दुई कलाकार रामकृष्ण धिना महर्जन र नारायणदेवी प्रधानलाई विशेष सम्मान पनि प्रदान गरिएको छ।

Sankipa Samman 1

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सम्मानित कलाकारहरुलाई सम्मान–पत्र सहित सम्मान प्रदान गरेका थिए। काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा आयोजित सम्मान समारोहका साथमा नेपालभाषा फिल्म फेस्टिबलको शुभारम्भ भएको घोषणा पनि गरिएको थियो।

हरेक महिनाको अन्तिम हप्ता नेपालभाषा फिल्म फेस्टिबलमा छनौटमा परेका चलचित्रलाई प्रदर्शन गरिने क्रममा पुष २५ गते शनिवार मू मदुगु जिन्दगी नामक चलचित्र प्रदर्शन गरिने जानकारी पनि दिइयो। समारोहमा नेवा जागरण मंचका अध्यक्ष सुजीव बज्राचार्य,चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे, बरिष्ठ अभिनेता पवन जोशी, संकिपा समाजका महासचिव स्वतन्त्र महर्जन लगायतले नेपालभाषा फिल्म फेस्टिबलको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए।

आयोजक नेपालभाषा संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले चलचित्र विकास बोर्डमा फेस्टिबलमा आवेदित अठार वटै चलचित्रलाई निःशुल्क दर्ता गर्नमा संकिपा समाजको पहल सफल भएको बताए। फेस्टिबलको पहिलो सफलताको रुपमा नै आफूले यसलाई लिएको अध्यक्ष तुलाधरले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष २४ गते शुक्रबार ।