काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालभाषामा कक्षा १ देखि ४ सम्मको ‘यँ देय् म्हसीके’ (काठमाडौं चिनौं) नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ ।

शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार आधारभूत तहमा स्थानीय विषयका रूपमा मातृभाषामा पठनपाठन गर्न सकिने व्यवस्था भएअनुसार काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म पाठ्यक्रम निर्माण तथा कक्षा ४ सम्मको पाठ्यपुस्तक प्रकाशित गरेको हो ।

काठमाडौं महानगरपालिकाले शुक्रबार आयोजना गरेको समारोहमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेपालभाषाका पाठ्यपुस्तक सार्वजनिक गरेका हुन् ।

उक्त पाठ्यपुस्तकमा काठमाडौंको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, व्यक्तित्व परिचय, भाषा र रञ्जना लिपि, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक महत्त्वका विषय समेटिएका छन् । एक सय पूर्णाङ्कको यो पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा पठनपाठन गरिने काठमाडौं महानगरपालिका शिक्षा विभागले जनाइएको छ ।
प्रकाशन मिति–२०७७ साल फागुन २८ गते शुक्रवार ।