–श्याम स्मृत
काठमाडौं। जहाँ महिला त्यहाँ विकासको पाइला भन्ने अवधारणालाई राजनीतिक तथा सामाजिक रुपमा विकास गर्न आवश्यक रहेको जिकिर महिला राजनीतिमा कम्मर कसेर दशकौं देखि लाग्दै आएकी सावित्री खनालको धारणा रहेको छ। महिलाबिनाको संसार वास्तबमा नै निरस हुने कुरालमा जोड दिदै नेतृ सावित्री खनाल महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको प्रगति भनेर दावी गर्न चुक्दिनन् ।

आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता, नारीशक्ति आदि जति पनि सम्मानसूचक शब्दहरू प्रयोगमा छन् परापूर्व कालदेखि, आजसम्म पनि तिनले उति नै महत्व राख्ने गरेको वताउने नेतृ खनालको राजनीतिप्रतिको झुकाव विद्यार्थी जीवनवाटै हो। भक्तपुरको कटुञ्जेमा जन्मेकी नेतृ खनालको राजनीतिप्रतिको झुकाव विसं.२०४६ सालमा भक्तपुर क्याम्पसमा अध्ययनरत हुंदा नै भएको हो।

बीपी चिन्तन र बीपीवादवाट राजनीतिमा आकर्षित बनेकी सावित्री खनाल पिता इन्द्रवहादुर थापा र आमा मानकुमारी थापा तथा दाजु खुशवहादुर थापाको राजनीतिक पृष्ठभूमि एवम् लगाबवाट नै अझ राजनीतिमा लाग्न प्रभावित बनेकी हुन। कलेज लाइफमा नेवि संघको केन्द्रिय सदस्यको राजनीतिक पृष्ठभूमि वनाउंदै विसं.२०५२ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर राजनीतिमा होम्मिएकी सावित्री खनाल महिला सशक्तिकरणलाई जोड दिनुपर्ने अवधारणालाई अवलम्बन गर्दैआएकी छन्।

विकास र समृद्धिको लागि महिला संस्था नामक सामाजिक संस्थाको विसं.२०७४ सालमा स्थापना गरेर यसको नेतृत्व दिने कार्य पनि सावित्री खनालवाट हुंदैआएको छ। महिला दिदीबहिनीहरुको आय आर्जनको कार्य लगायत रोजगार सिर्जना तथा सामाजिक सचेतना लगायतका कार्यमा सावित्री खनालको नेतृत्वमा रहेको विकास र समृद्धिको लागि महिला संस्थाले गरिरहेको छ।

जीवन नै प्रेम हो भन्ने जान्नेले विभेदको स्वभाव अपनाउन सक्दैन । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न जान्नेले जीवन विभेदमा होइन प्रेमपूर्ण भएर जिउन सक्छ। जीवनका सम्पूर्ण आयामहरूमा होश, जागरुकता र सजगता कायम राख्न सक्ने हो भने महिला र पुरुष भन्ने भिन्नता नै आउँदैन भन्ने धारणा सावित्री खनालको रहेको छ। घर, समाज, राष्ट्र र विश्व नै प्रेमपूर्ण हुन सकेको भए विभेद भन्ने कुराको अस्तित्व नै हुने थिएन भन्ने सावित्री खनालको भनाईमा जति नै कानुन बनेर, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रूपमा गरिने विभेदको अन्त्य हुँदैन।

त्यसो त स्वभाव र परम्परा जादुझैं तुरुन्तै परिवर्तन हुँदैनन् । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन। त्यसका लागि प्रेमपूर्ण घर एवं समाज निर्माण गर्नु पहिलो आवश्यकता भएको खुलासा सावित्री खनालको रहेको छ। खनालको भनाईमा प्रेममा विभेद हुँदैन।

महिलाहरू व्यक्तिगत रूपमा आफैंमा सशक्त हुन्छन् तबमात्र उनीहरूका सन्तानले पनि सही शिक्षा र उचित मार्ग पाउँछन् । आफू शिक्षित, स्वस्थ, मस्त, आनन्दित र प्रेमपूर्ण रहनु पहिलो प्राथमिकता हो । राजनीतिक एवं सामाजिक सहभागिता घर, परिवार र आनन्दपछिको दोस्रो प्राथमिकता हो ।

जसरी पहिलो खुट्किलो नचढी दोस्रो चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ। त्यसैगरी पहिलो सशक्तीकरणमा उत्तीर्ण नभई दोस्रोमा जाँदा लड्ने सम्भावना त्यत्ति नै रहन्छ । आत्मविश्वास, आत्मनिर्भरता, शील, सहनशीलताजस्ता गुण महिला सशक्तीकरणका आधार हुन् । यी आयामहरूबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयं महिलाले पनि आफूलाई अघि बढाउनुपर्छ भन्ने तर्क सावित्री खनालको रहेको छ।

हाम्रो समाजमा महिला भएकै कारणले हुने भेदभाव पूर्णरूपमा हटिसकेको छैन र पनि धेरै सुधार आएको छ । परिस्थितिलाई दोष दिनुभन्दा पनि कसरी आफ्नो अनुकूल बनाउने, कुन मार्ग अपनाउने अनि कुन सोच राखेर के उद्देश्यका लागि कर्म गर्ने त्यसको योजना बनाएर चल्नु बुद्धिमानी हुने बीपी चिन्तन र विचारका हिमायती सावित्री खनाल आफ्नो पार्टी नेपाली कांग्रेसको संगठन विस्तार र विकासका लागि अहोरात्र खटिरहेको नेतृ खनालले वताएकी छन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ को नगर कार्य समितिमा रहेर सावित्री खनाल सक्रिय राजनीति गर्नमा तल्लिन रहेकी छन्। सानैदेखि दुःखी, गरीब तथा असहाय देखिमा दिलैदेखि सहयोग गर्ने कार्य गर्दैआएको वताउने सावित्री खनालले माइतिका कैयन सुकाइराखेका धानका भकारी पनि सहयोग गर्ने गरेको कारण माइति गाउंमा अझैपनि उनलाई मनकारी चेली भन्ने गरेको पाइन्छ। विकासवादी सिद्धान्त वोकेका सामाजिक अभियन्ता शिवहरि खनालसंग विवाह भएर काठमाडौंको बालुवाटारमा आएपछि दशकौं देखि छरछिमेकका अनेक समस्यामा हल गर्ने कार्यमा सक्रियता देखाउंदैआएकी छन्।

आगामी स्थानीय निर्वाचनमा पार्टीले जिम्मेवारी दिएमा महिला वडा सदस्य देखि वडा अध्यक्षसम्म पनि चुनाव लड्न आफू तयारी भएको सावित्री खनालले भनेकी छन्। आँट तथा धैर्य र साहस आफूसंग प्रचुर भएको कारण कुनैपनि जिम्मेवारीवाट आफू पछि नहट्ने उद्घोष पनि सावित्री खनालले गरेकी छन्।


(नामी साप्ताहिकवाट साभार।)
प्रकाशन मिति–२०७७ साल फागुन २९ गते शनिवार ।