काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन्। सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।

खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरेकी छन्। नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन राष्ट्रपति भण्डारीको आग्रह रहेको छ।

अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने आफ्नो सोच हुँदाहुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि राष्ट्रपति भण्डारीले खुलासा गरेकी छन्। राष्ट्रपति भण्डारी आगाम चैत ९ गते बंगलादेश भ्रमणमा जानेभएकी छन्। यसलेगर्दा पनि कोरोनाको खोप लगाउनु परेको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र २ गते सोमवार ।