काठमाडौं। नेपालको अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पल्ट वाग्मती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

धिराङ मकवानपुरको अत्यन्त विकट बस्ती हो । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । नवनियुक्त राज्यमन्त्री चेपाङको शपथग्रहण पनि भइसकेको छ । शपथ लिएपश्चात् राज्यमन्त्री चेपाङले चेपाङ समुदायबाटै पहिलो मन्त्री बन्न पाएकोमा पार्टी र सरकारप्रति आभार प्रकट गरेका छन्।

८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध छन्। त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्लादेखि केन्द्रसम्मको जिम्मेवारी बहन गरिसकेका छन्।

मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य रहेका छन् । तीनै चेपाङ सन्तबहादुर राज्यमन्त्रीमा नियुक्त भएका छन्। २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ।
प्रकाशन मिति–२०७८ साल पुस ९ गते शुक्रवार ।