Traffic Jariwana

काठमाडौ। नेपालमा जेष्ठ १६ गते देखि जथाभावी बाटो काट्ने पैदल यात्रीहरुलाई पनि कारवाही गर्ने नियम शुरु भएको छ। यसैक्रममा ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलवार कारबाहीमा परेका छन्।

जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले बताएका छन्। कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागिता जनाएको ट्राफिक प्रहरी कार्यालयले भनेको छ।

यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न जेष्ठ १६ गतेवाट अभियान सुरु गरिएको ट्राफिक प्रहरीको भनाई रहेको छ। यसलाई अव नियमित रुपमा कार्यान्वयन गरिने भएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १६ गते मंगलवार ।