काठमाडौं। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिमको मुलुकमा राखेपछि त्रास फैलिएको छ। चीनवाट फैलिएको कोरोनाभाइरस विश्वका ६४ देशमा फैलिइसकेको छ। नेपालमा हालसम्म यो कोरोनाभाइरस संक्रमित रोगी नदेखिएतापनि उच्च सतर्कता नअपनाएमा नेपालमा पनि महामारी हुने संकेतका कारण त्रास फैलिएको हो।

नेपाली बजारमा मास्कको अभाव हुन थालेको छ। कार्यालय तथा घर–घरमा पनि मास्क प्रयोग हुन थालेपछि मास्कको अभाव हुन थालेको हो।
कोरोनाभाइरसको त्रासले पछिल्लो समय सामान्य रुघाखोकी लागेकाहरुसमेत काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुग्नेक्रम बढ्दो छ। उनीहरुमा कोरोनाको संक्रमण नभइ मौसमी रुघाखोकी लागेको भन्दै चिकित्सकहरुले नआत्तिन सुझाव दिने गरेका छन् ।

हाल उक्त अस्पतालमा विभिन्न देशबाट आएका ६ जनालाई अस्पतालको ‘आइसोलेसन’कक्षमा राखिएको छ। उनीहरुमा पनि कोरोना पुष्टि नभएको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले भनेका छन्। कोरोना भाइरसको पुष्टि भएका बिरामी भेटिएमा काठमाडौंकै वीर अस्पताल, टेकु अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै पनि उपचारको व्यवस्था पनि सरकारले मिलाइसकेको डा.राजभण्डारीको भनाई रहेको छ।

कोरोनाभाइरस संक्रमणको शंकाले आत्तिनुभन्दा रुघाखोकी लागेमा घरमै बसेर आराम गर्ने, तातो झोलपदार्थ खाने, सामान्य रुघाखोकीको औषधि खाने र बाहिर जाँदा मास्क प्रयोग गरेमा निको हुने र जोखिमसमेत कम हुने चिकित्सकहरुको सुझाव छ।
प्रकाशन मिति–२०७६ साल फागुन २० गते मंगलवार ।