काठमाडौं। नेपालमा कोरोनाभाइरस विरुद्धको दोश्रो चरणको खोप अभियान शुरु गरेको छ। जसमा सरकारले दोस्रो चरणमा पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो।

सोमबार बिहानदेखि काठमाडौं उपत्यकाको ४ अस्पतालबाट खोप कार्यक्रम सञ्चालन भएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पत्रकारहरूले ‘कोभिसिल्ड’ खोप लगाउने कार्य उत्साहपूर्वक भएको छ। अन्य नियोगका कर्मचारीलाई भन्ने त्रिवि शिक्षण, गंगालाल र पाटन अस्पतालबाट खोप दिइएको छ।

फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीलाई प्राथमिकतामा राख्दै सरकारले खोप दिने निर्णय सही भएको सञ्चारकर्मीहरुको भनाई रहेको छ। लामो समयसम्म कोरोना त्रासमा बस्नु परेकोमा खोप लगाउन पाउँदा आफूहरू खुशी भएको उनीहरुले वताएका छन्।

पहिलो चरणमा स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेका र कुनै असर नदेखिएकाले सबै पत्रकारले ढुक्कसँग खोप अभियानमा सहभागी वनेको धेरै सञ्चारकर्मीहरुले भनेका छन्। अर्कोतर्फ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपको दोस्रो प्राथमिकतामा वृद्ध–वृद्धालाई नराखेको भन्दै चौतर्फीविरोध भइरहेको छ।

वृद्ध–वृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मन्त्रालयले पहिलो प्राथमिकतामा उनीहरूलाई राख्नुपर्ने माग उठेको हो। तर, स्वास्थ्य मन्त्रालय पहिलो प्राथमिकतामा वृद्ध–वृद्धा नै भए पनि सबैलाई खोप लगाउन नपुग्ने भएकाले समस्या भएको जनाएको छ।

सरकारले जोखिममा रहेका वृद्ध–वृद्धालाई किन खोप प्राथमिकता नदिएकोभन्ने प्रश्नको उत्तर दिँदैमन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम प्राथमिकता र खोपको उपलब्धतालाई हेरेर मन्त्रालयले प्लानिङ गरिरहेको बताए। ‘वृद्ध–वृद्धालाई खोपदिने हो भने २० लाख डोज चाहिन्छ। २० लाख खोप आएको छैन। जम्मा पाँच लाख खोप हामीसँग छ’, डा. गौतमले भने, ‘हामी प्रक्रियामा छौं। अलि बढी खोप आउँदा उहाँहरूको पालो आउँछ।’
पत्रकार र कूटनीतिक नियोगका व्यक्ति सानो समूह भएकाले सबैलाई कोरोना खोप दिन पुग्ने उनले बताए।

त्यही भएर दोस्रो चरणमा यो समूह छानिएको डा.गौतमको भनाई छ। खोपको उपलब्धता र समूहलाई हेर्दै यसैगरी सबै जनतालाई क्रमशः मन्त्रालयले खोप लगाउँदै जाने उनले बताए। सबै कुरालाई विरोधको नजरले मात्र हेर्ने नभई सकारात्मक रूपमा हेर्न पनि उनको आग्रह छ। उनले पत्रकार र कुटनीतिक नियोगका व्यक्तिलाई लगाइसकेपछि तीन लाख डोज खोप बच्ने आकलन गरिएको बताए। त्यो खोप भीडभाड हुने कार्यालयका कर्मचारीलाई लगाइने उनको भनाई छ।


प्रकाशन मिति–२०७७ साल माघ २६ गते सोमवार ।