काठमाडौं। कोरोना कहरका कारण नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको वताएका छन्।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। विभिन्न ११ जिल्लामा एक–एकजनाको मृत्यु भएको प्रवक्ता डा.गौतमले वताएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण भएको पनि पुष्टि गरेका छन्। योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा लकडाउन भएको दोश्रो दिनमा मात्रै १८२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट २५० जना ‘डिस्चार्ज’ भएको जानकारी दिएका छन्। योसहित कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या १२ हजार २३४ रहेको छ।


प्रकाशन मिति–२०७७ साद भाद्र ५ गते शुक्रवार ।