काठमाडौं। नेपाली जनताको मनमा गहिरो रुपमा बस्न सफल भएको नेकपा एमाले दर्ता भएको छ। निर्वाचन आयोगले अन्ततः नेकपा एमाले नामको दल दर्ता गरिदिएको हो।तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई वर्तमान सत्तारुढ दल नेकपा बनेसँगै एमाले पार्टी अस्तित्वमा रहेको थिएन।

यो अवस्थामा नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँबुझ गरेर दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले खुलासा गरेका छन्। दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले नेकपा एमालेलाई दर्ता गरिदिएको हो।

आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ। केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने निर्वाचन आयोगले जनाएको छ। सतारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता एकाएक तिवारीको नेतृत्वमा नेकपा एमाले पार्टी दर्ता गर्न आयोगमा निवेदन पुगेपछि सनसनी मच्चिएको थियो। नेकपामा अध्यक्ष केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले दबाब दिइरहेका बेला नेकपा एमाले दर्ताका लागि आयोग पुगेको थियो।

दाहाल–नेपाल पक्षले नेकपा एमाले नामको पार्टी दर्ताका लागि प्रधानमन्त्री ओलीको हात रहेको आरोप लगाइरहेका छन् । यही बीचमा आयोगले पनि दर्ता गरिदिने निर्णय गरेको छ। असार १६ गतेको स्थायी कमिटी बैठकमा दाहाल–नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताको षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाएका थिए। ओलीले भने अरु नेताको आरोपको ठाडै खण्डन गर्दै आएका छन्। कतिपयले नेकपामा अल्पमतमा रहेका ओलीमाथि कार्वाही भए अर्को पार्टी खोल्नका लागि नै नेकपा एमाले दर्ता गराएको आरोप लगाउने गरेका छन्।

नवगठित नेकपा एमाले अध्यक्ष सन्ध्या तिवारी पुराना कम्युनिस्ट नेता हरि भेटवालकी बुहारी हुन्। साबिक विराटनगर–६, हाल विराटनगर महानगरपालिका–५ माइती भएकी उनी हाल काठमाडौंमा बसोबास गर्छिन्। हरि भेटवालका छोरा मनोज भेटवालसँग वैवाहिक जीवनमा बाँधिएकी उनी ससुराको निधनपछि काठमाडौं आएकी हुन्। सामान्य परिवारमा जन्मेकी सन्ध्याको राजनीतिमा खासै लगानी र अनुभव छैन।

ससुरा हरि भेटवाल तत्कालीन शिवगञ्ज गाविसको २५ वर्ष अध्यक्ष भएका व्यक्ति हुन्। साबिक शिवगञ्ज–१, हाल शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज घर भएका भेटवाल परिवार घरजग्गा बेचेर काठमाडौं आएको हो। र, उनीहरूले लामो समय काठमाडौंको शंखमुलमा बसोबास गरेको र अहिले त्यहाँबाट सरेको बताइन्छ। हाल उनी भक्तपुर लोकन्थली नगर टोलमा बस्छिन्। साबिक शिवगञ्जमा केही खेती बाँकी भएको पुराना छिमेकीहरूको भनाइ छ।

करिब डेढ दशकअघि ससुरा हरिको निधन भएपछि उनीहरू काठमाडौं आएका थिए। २०५१ सालमा सन्ध्याको विवाह भएको थियो। उनको सानै उमेरमा बिहे भएको माइती पक्षको भनाइ छ। उनी शिवगञ्ज रहँदासम्म खास राजनीतिमा चासो राख्ने व्यक्ति नभएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। सानै उमेरदेखि राजनीति गर्ने सोच राखेको र विगतमा राजनीति नगरे पनि सानैदेखिको इच्छा पूरा गर्न दल दर्ता गराएको बताउने सन्ध्याले मदन भण्डारीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाईस्थापित गराउनकै लागि नयाँ पार्टी खोलेर अगाडि आउनुपरेको वताएकी छन्।

तत्कालीन एमालेका नेताहरूले भण्डारीको विचारधारा लत्याउनुभो। उहाँहरूले बाटो बिराउनुभो। हामीले त्यही विचारधारलाई जनतामाझ स्थापित गर्न युवाहरूको सक्रियतामा पार्टी खोल्न बाध्य भयौं भनेर सन्ध्याले भनेकी छन्। सन्ध्याले केही समय शिक्षणसमेत गरेकी थिइन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ६ गते शनिवार ।