काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ। बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो । डेली मेलले बिहीबारको संस्करणमा नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज भन्दै कभरमै सनसनीपूर्ण भ्रामक समाचार प्रकाशित गरेको थियो।

तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ।

डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ–“नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७०, डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२)हो।”
प्रकाशन मिति–२०७८ साल जेठ २० गते विहीवार ।