काठमाडौं। भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन्। हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ।

त्यसैगरेर, जनकपुरमा एकजना र उदयपुरमा थप एकजना कोरोनाभाइरसका बिरामी फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै, पाटन अस्पतालमा उपचारमा रहेका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पूर्णरुपमा निको भइ ‘डिस्चार्ज’ भएका छन्। बेलायतबाट आएर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरुलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेकी एक महिला पनि कोरोनामुक्त भएपछि बिहीबार डिस्चार्ज गरिएकी छन् । योसँगै नेपालमा हालसम्म १० जना कोरोनाभाइरसमुक्त भइ घर फर्किएका छन् भने काठमाडौंका विभिन्न अस्पतालमा उपचारमा रहेका सबै बिरामी पूर्णरुपमा स्वस्थ भएका छन् ।

उपत्यकाबाहिर विभिन्न अस्पतालमा ३७ जना उपचारमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ। देशभर ‘पीसीआर’ र ‘आरडीटी’ गरी ४३ हजार ७२२ जनाको स्वास्थ्य परीक्षण भएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले ‘लकडाउन’को समयमा पनि अन्य उपचारको क्रम जारी रहेको जानकारी दिए।

हालसम्म एक महिनाभित्र ८६१ जना चोटपटक लागेका बिरामीको उपचार गरेको र कोरोनाभाइरसका बिरामीका लागि सातओटा भेन्टिलेटर तथा ‘आइसीयु’कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए। हाल देशभर १० हजार ५७३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ८६ जना ‘आइसोलेसन’कक्षमा छन् ।
प्रकाशन मिति–२०७७ साल बैशााख ११ गते विहीवार ।