काठमाडौं। नेपालमा सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो।

सीमा नाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो। लकडाउनअघि नेपालमा कोरोना संक्रमितको संख्या दुईजना थियो।अहिले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

कोरोनाभाइरसको जोखिम बढ्ने देखिएपछि सरकारले एक हप्ताको लागि गरेको लकडाउन बढाएर पहिलोपटक चैत २५ गतेसम्म र दोस्रोपटक थप एक हप्ता बढाएर वैशाख ३ गतेसम्म पुर्‍याएको थियो।

कोरोना महामारीको जोखिम थप बढ्ने देखेपछि सरकारले तेस्रोपटक लकडाउनको समयसीमा बढाएर वैशाख १५ गते पुर्‍याएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २ गते सोमवार ।