काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्सि आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि महाशाखाले भनेको छ। हिउँद सकिएर हल्का गर्मी बढ्न शुरु भएकोमा आज शुक्रबारवाट पुनः मौसममा बदली आएर जाडो भएको छ।

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर बिहानैदेखि सामान्य हावाहुरीसहित पानी परेको छ। बंगालको खाडी र अरबको सागरबाट उठेको जलवाष्पीकरण नेपाल आइपुगेपछि मौसममा फेरबदल आएको हो।

शुक्रबार देशका हिमाली तथा मध्य पहाडी भू–भागमा हल्का हिमपात र पानी परेपनि शनिबार र आइतबार बिहानसम्म मेघगर्जन, चट्याङ र असिना–पानीको सम्भावना बलियो रहेको महाशाखाको भनाइ छ।
प्रकाशन मिति–२०७६ साल फागुन ३० गते शुक्रवार ।