काठमाडौं। नेपालमा बिहीबारमात्र एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार विहीवार हालसम्मकै एकैदिन धेरै डढेलो लागेको हो। दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताएका छन्।

बिहीबार धेरैतिर डढेलो लागेको नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै डढेलोविज्ञ शर्माले यति डढेलो विगतमा कहिल्यै लागेको थिएन भनेर भनेका छन्। मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ ।

यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च दर भएको खुलेको छ। अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ ।

देशभर डढेलोको प्रकोप बढेपछि शर्मालाई बिहीबार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ । मंसिर–पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लागेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज–आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ ।

कहिलेकाहीँ भने घरछेउ र बारीमा आगो लगाउँदा हावाले उडाएर जंगलमा पनि डढेलो सल्किने गरेको छ । फागुनदेखि वैशाखसम्म गर्मी, सुक्खापन र हावाहुरीका कारण पनि डढेलोले ठूलो आकार लिने गरेको भेटिएको शर्मा बताउँछन् ।
प्रकाशन मिति–२०७७ साल चैत्र १२ गते शुक्रवार ।