काठमाडौ । नेपालमा यसै बर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी नयाँ बर्ष २०७४ साल वैशाख १ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।

Kidneyविश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले विहीवार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट मिर्गौला प्रत्यारोपण निःशुल्क गर्न लागिएको जानकारी दिएका छन्।

रोगीका लागि आवश्यक औषधिका सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ। स्थानीय तहसम्म नसर्ने रोगको पहिचानका लागि यसै वर्ष एक हजार स्वास्थ्य चौकीमा सुरु गर्न लागिएको र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा सुरु गरिने पनि मन्त्रालयको भनाइ छ।

मन्त्री थापा भन्छन्–“अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन बने पनि नियम नबन्दा समस्या थियो । अब भर्खरै नियम बनेको छ, अब अङ्ग प्रत्यारोपणमा सहजता भएको छ । अब यस विषयमा जनतालाई बुझाउन आवश्यक छ ।”

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले विश्वभरि नै तीव्र रुपमा बढिरहेको मोटोपनको समस्याले शरीरका अरू अङ्गसँगै मिर्गौलामा समेत असर पर्ने र मोटा व्यक्तिमा स्वस्थ व्यक्तिमा भन्दा पाँचदेखि सात गुणा बढी मिर्गौला खराब हुने जोखिम रहेको बताएका छन्। केन्द्रले हाल मिर्गौला, कलेजो तथा मुटुको जटिल शल्यक्रिया गर्दै आएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २६ गते विहीवार ।