काठमाडौं। नेपालले अव चीनको ठूला सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। जसले गर्दा भूपरिवेष्टित मुलुक नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको हो।

नेपाल र चीनबीच सन २०१६ मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला सामुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविसंकर सैंजु र चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात सेवा विभाग यातायात मन्त्रालयका महानिर्देशक वांङ सि पीङले गरेका थिए।

बुधबारदेखि काठमाडौमा भएको ३ दिने दुई पक्षीय बैठकले तेस्रो मुलुकबाट नेपालले बस्तु आयात निर्यात गर्दा चीनका तियान्जिन, सान्जेन, लियान्ग्याङ झान्जियाङलगायतका समुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।

यसका अतिरिक्त ती बन्दगाहमार्फत नेपालसम्म ढुवानीका लागि उपयुक्त स्थलमार्ग र भन्सार नाका प्रयोगमा पनि नेपालले सहज उपयोग गर्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको छ। यसले अब नेपालको व्यापारमा उत्तर पूर्वी एसियाली राष्ट्रसँगको सहज पहुँच स्थापना हुनेछ। यसले भारतको कलकत्ता बन्दरगाहमाथिको निर्भरतामा कमी आउने भएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।