काठमाडौं। अन्तरराष्ट्रिय साक्षरता दिवस तथा ३९ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेको हो।

यस कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नैतिक,प्राविधिक र व्यावहारिक शिक्षालाई न्युनतम मापदण्ड बनाएर शिक्षालाई समाज रुपान्तरणको आधार बनाउन काठमाडौं महानगरपालिका प्रयासरत रहेको बताएका छन्।

यससंवन्धमा मेयर शाक्यले विद्यार्थीहरुलाई प्राविधिक तथा व्यावहारिक सीपमूलक शिक्षाको अत्यन्त आवश्यकता रहेको कुरामा जोड दिदै सामुदायिक तथा संस्थागत विद्यालय वीच देखिएको असमानताको खाडल पुरिन आवश्यक भएको जिकिर गरे।

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले शिक्षण संस्थाभित्रका विकृति हटाएर यस क्षेत्रलाई विकासको मेरुदण्ड बनाउन महानगरले नीतिगत रुपमै व्यवस्था गरेको बताए। 

“समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार” शीर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा विभिन्न श्रोत केन्द्रका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई मेयर शाक्यले पुरस्कार प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ २२ गते शुक्रवार।