लण्डन। बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको आरोप लगाएकी छन्।

बेलायती संसदमा बोल्दै प्रंधानमन्त्री टेरिजाले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन्। प्रधानमन्त्री टेरिजाले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत लगाइन। रुसी जासुसी निकाय जीआरयूमाथि सामूहिक कारबाहीको आह्वानसमेत उनले गरिन।

स्कट्ल्यान्ड यार्ड तथा ब्रिटिश अभियोजनकर्ता निकाय क्राउन प्रोसिक्युसन सर्भिस सीपीएसले पूर्व रुसी गुप्तचर स्क्रिपाल र उनकी छोरी युलियाको हत्या प्रयास गरेको आरोप लागेका एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफविरुद्ध पर्याप्त प्रमाण रहेको जनाएका छन्। आरोपीहरुले आफ्नो नाम परिवर्तन गरेको हुन सक्नेसमेत बताइएको छ।

बेलायती प्रहरीले दुई जनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ। गत मार्चमा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको थियो। तर रुसले भने बेलायतको आरोप अर्थहीन भएको जनाएको छ।

बेलायतले आरोपीहरुको नाम सार्वजनिक गरेपछि रुसी विदेश मन्त्रालयले ती व्यक्तिको नाम र फोटो आफूहरुका लागि अर्थहीन भएको प्रतिक्रिया दिएको छ ।
( समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल भदौ २१ गते विहीवार ।