काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको खुलासा गरेका छन्।

बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा भइरहेका संयुक्त अभ्यासबाहेक कुनै सैन्य अभ्यासको सम्झौता नभएको दावी गरेका छन्।

आतंकवाद नियन्त्रणका लागि अनुभव आदानप्रदान गर्ने गरी यसअघि विभिन्न देशसँग भइरहेका संयुक्त सैन्य अभ्यासभन्दा फरकखालको सैन्य अभ्यासको सम्झौता नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

यस्तै, सांसदहरुले बिम्स्टेक सम्मेलनमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिक लिएर आएको विषयमा प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो गच्छेअनुसार विदेश भ्रमण गएका बेला नेपालले पनि सेना लैजाने गरेको भन्दै स्वाभाविक विषयलाई अनावश्यकरुपमा नउचाल्न आग्रह गरे।
प्रकाशन मिति–२०७५ साल भदौ १९ गते मंगलवार ।