Baideshik Rojgariकाठमाडौ। नेपालवाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घटेको छ । अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आव २०७३-७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ।

चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या एक लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष एक लाख ७६ हजार ८३१ जना र महिला नौ हजार ३३५ रहेको छ । सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स (युयई)मा २६ हजार २५१, कुवेतमा पाँच हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन्।

आव २०६३-६४ देखि आव २०७२-७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। वैदेशिक रोजगारीमा जानेमध्ये एक दशमलव पाँच प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ दशमलव पाँच प्रतिशत अदक्ष कामदार रहेका छन्। गत आवमा दुई दशमलव नौ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ। चालु आवको पहिलो आठ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र सात महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु नौ करोड ४० लाख १५ हजार वितरण गरिएको छ। आव २०६५-६६ देखि २०७२-७३ सम्म पाँच हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म पाँच हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ। यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १४ गते आइतवार ।