काठमाडौं। नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआजा भएको छ। घटस्थापना गरेसँगै नवरथा शुरु भएपछि महामाया नवदुर्गाका नौ रुपहरुको पूजाआजा गर्ने क्रममा आज ब्रम्हचारिणी भगवतीको पूजाआजा भएको हो।

ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने बैदिक तथा धार्मिक मान्यता छ।
नवरथाका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

दशैंको आज दोस्रो दिन देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ। काठमाडौंं राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ। काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी नवदुर्गाको विशेष पूजा गरिन्छ।

यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ। त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ। कतिपय शक्तिपिठहरुमा टाढावाट दर्शन गराउने व्यवस्था मिलाइएको छ।

Tudal Devi Mata, Tudal Devi, Baluwatar-4, Kathmandu, Nepal.

प्रकाशन मिति–२०७७ साल कात्तिक २ गते आइतवार ।