काठमाडौं। नेपाली काँग्रेसका लोकप्रिय नेता नविन्द्रराज जोशीको दुःखद निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ। नेता जोशीको निधनलाई परिवारजनले पनि पुष्टि गरिसकेको छ।

जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो। टाउकोको सानो शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर देखिएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। स्वर्गवासी नेता जोशी काठमाडौँ महानगरपालिकाका लोकप्रिय पूर्व उपमेयरसमेत हुन।

विसं. २०३६ सालबाट विद्यार्थी राजनीति मार्फत नेपाली कांग्रेसको राजनीतिमा होमिएका नेता जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा समेत परेका थिए। संविधानसभा सदस्यसमेत रहेका जोशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष पनि हुन। जोशीका एक छोरी र श्रीमती छन् ।
प्रकाशन मिति–२०७७ साल चैत्र १३ गते शुक्रवार ।