काठमाडौं। नेपाली कांग्रेसका  नेता तथा सम्पदाप्रेमी शैलेश शाक्य लगंबरेजुका एक पछि अर्को गीतका भिडियो निर्माण हुन थालेको छ। गत बर्ष बडादशैंको सेरोफेरोमा भुतुमाली पौ च्वया बोलको गीतको भिडियो निर्माणवाट व्यापक चर्चामा आएका गीतकार शैलेश शाक्य लगंबरेजुको नयाँ गीत छ जिमि हेरा रे, छ जिमि पुता रे बोलको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ।यो बर्षको नेपालीहरुको दोश्रो महान पर्व तिहारको सेरोफेरोमा रिलिज हुन लागेको लगंबरेजुको गीतको भिडियोमा किशोर चिपालु, सृष्टि महर्जन तथा निरज बाँडेको अभिनय रहेको छ। निर्देशन नेपालभाषा चलचित्रका नामी निर्देशक रामकृष्ण खड्गीको रहेको छ। गीत गायन पवित्र कसाःको रहेको छ भने, गोविन्द ह्यूमतको संगीत तथा जिवित जल्मीको म्युजिक एरेञ्ज रहेको छ। छायाँकन बरिष्ठ छायाँकार तथा सम्पादक लुजः सिंहले गरेका छन्।

गीतकार लगंबरेजुका यसअघिका मतिनाया सवाः, जिगु जिन्दगी जित हे त्वता बिउ, मु मदुगु जिन्दगी, यो बा यो बा धका न्ह्याकु सतुसा लगायतका गीत हिट छन्। नेपालभाषाका चलचित्र बाला मयजु, हाकु सुपाय, दोप मि सु लगायतमा पनि गीतकार लगंबरेजुले गीत लेखेका छन्।

जिन्दगी सवाः ११२३ र मतिनाया सवा ११३१ दुई सीडी एल्बम पनि प्रकाशन भैसकेको छ। राजनीति, सम्पदा संरक्षण, सेभ द नेवाःभ्याली अभियान लगायतमा अत्यन्त व्यस्त बनेतापनि गीत लेखन आफ्नो सानोदेखिको रुचि रहेको कारण जस्तोसुकै व्यस्ततामा पनि छाड्न नसकेको गीतकार लगंबरेजुले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २१ गते शुक्रवार ।