काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा नेपालको प्रधानमन्त्री बनेका हुन्।

देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले कुनैबेला सात पटकसम्म नेपालको प्रधानमन्त्री बन्ने देउवाको योग भएको ज्योतिषवाणी अनुरुप पटक–पटक गरेर पाँचौ पटक मंगलवार नेपालको प्रधानमन्त्री बनेपछि संयोग हुन पुगेको हो। मंगलवार नै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।

प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । झन्डै दुई घन्टाको विवादपछि नियुक्तिपत्रमा सर्वोच्च अदालतको परमादेश र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो।

सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो। साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने बताएकी थिइन् ।


प्रकाशन मिति–२०७८ साल असार २० गते मंगलवार ।