काठमाडौं। नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले यष वर्षका लागि राष्ट्रिय स्रष्टा सम्मान, वर्ष गीत र पुस्तक पुरस्कार तथा डायस्पोरा गीतकार सम्मान घोषणा गरेको छ। गीतकार सङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बुधवार उक्त सम्मान र पुरस्कार घोषणा गरिएको हो ।

यही जेठ २५ गते काठमाडौंमा एक विशेष समारोहबीच प्रदान गरिने सम्मान र पुरस्कारमा सङ्ले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७५’बाट बरिष्ठ गीतकार नगेन्द्र थापालाई रु एकलाख एक नगद सहित दोसल्ला ओढाएर सम्मान गर्ने भएको छ ।

त्यस्तै सङ्घले हरेक वर्ष प्रदान गर्दैै आएको ‘डायस्पोरा गीतकार सम्मानबाट बिदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्याए बापत हङकङमा बस्ने गीतकार रामकृष्ण बान्तवालाई ‘डायस्पोरा गीतकार सम्मान २०७५’ बाट रु एघार हजार नगद सहित प्रमाण पत्र प्रदान गर्ने भएको छ ।

यसैगरी संस्थामा आवद्ध सदस्यहरुले विसं. २०७५मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा ‘वर्ष गीत पुरस्कार २०७५’ प्रयोजनका लागि उत्कृष्ट दश गीत छनोट गरेको छ । जसमा अरुण तिवारी–कति कुरा, दिनेश सुबेदी– विदेशिए रमाई, डा. डीआर उपाध्याय–सन्तानको शिर, हाङ्युग अज्ञात–आमा मेरो, रमेश दाहाल–शान्ति अङ्कुर, वसन्तराज अज्ञात– कटेरोको बास, जानु काम्बाङ लिम्बु–कयौं प्यासी, टिका चाम्लिङ् –यी दुखहरु, झोटन मेहता–हिमाल मेरो र अर्जुनरत्न भिखारी–धनले होइन रहेका छन् ।

छानिएका यी उत्कृष्ट दश गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई साँतौ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरि एकाउन्न हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष चूडामणि देवकोटाले बताए ।

यसैगरी वर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष उर्मिला कोइरालाको –दिलको गजुर, गौरब गुरुङको पहाडको गीत र रबिन्द्र आशिष शैलीको माया महल रहेका छन् । यी पुस्तक मध्ये विज्ञ समितिले छान्ने एक पुस्तकलाई एकाउन्न हजार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिने सङ्घका उपाध्यक्ष शुभ मुकारुङले जानकारी गराए । उनका अनुसार वर्ष गीतका लागी यस वर्ष ५६ गीतबीच प्रतिस्पर्धा भएको थियो भने ७ बटा पुस्तक प्रतिस्पर्धामा थिए ।

संस्थाको अक्षयकोष निर्माणको अभियानलाई साथ दिई अक्षयकोषका निम्ति ११ लाख रुपैयाँ प्रदान गर्ने उद्योगपति गीतकार वसन्त चौधरीलाई जेठ २५ गने हुने विशेष समारोहमा अभिनन्दन गर्ने निर्णय सङ्घले गरेको पनि सङ्घका महासचिव बसन्त वित्यासी थापाले बताएका छन्।


प्रकाशन मिति–२०७६ साल जेठ ९ गते विहीवार ।