काठमाडौं। नेपाल र भारतको नक्सा विवाद यता चिस्सिएको नेपाल–भारत संवन्धमा सुधार आउने संकेत देखिएको छ। भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएपछि उक्त संकेत देखिएको हो।

टेलिफोन वार्ता पश्चात नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ। शनिवार भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन्।

शनिबार बिहान भएको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को असर काम गर्ने विषयमा छलफल भएको छ। कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् ।

दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिकले कोरोनाविरुद्धको खोप बनाउने र यसले कोरोना नियन्त्रणमा लिन सक्ने आशा व्यक्त गरेका छन् । त्यसैगरी भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीचको कुराकानीमा नेपालका प्रधानमन्त्री ओलीले भारतको सहयोग निरन्तर राखिराख्न अनुरोध गरेको जनाएको छ।
प्रकाशन मिति–२०७७ साल साउन ३१ शनिवार ।