काठमाडौं। नेपालको तेश्रो सानो नगरपालिकाको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकाभित्र कोरोना संक्रमण बढेपछि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा समेत रोक लगाइएको छ। भक्तपुर जिल्ला स्थित मध्यपुर थिमि नगरपालिकाको शनिवार वसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो। कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामै पहिलो स्थानमा रहेको छ।

मध्यपुर थिमि नगरपालिकाले भक्तपुर–काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न दिन नपाइने निर्णय गरेको छ।

समितिको निर्णय सार्वजनिक गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगर क्षेत्रअन्तर्गत भक्तपुर काठमाडौं ६ लेन सडकको पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने वताएका छन्। मेयर श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने र गराउने समितिले निर्णय गरेको बताए। अति आवश्यकीय खाद्यान्न, पानी, तरकारी, औषधि, ग्यासका पसल व्यवसाय भने बिहान ११ देखि दिउँसो १ बजेसम्ममात्रै खोल्न पाइने व्यवस्था गरिएको मेयर श्रेष्ठको भनाइ छ।

शुक्रबारसम्ममा भक्तपुर जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगर क्षेत्रमा कोरोनाभाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबारसम्ममा मध्यपुरमा जम्मा ३६ जनामा कोरोनाभाइरस संक्रमण भएको छ। जसमा पुरुष १९ र महिला १७ जना रहेको कार्यालय प्रमुख कृष्ण मिजारले वताएको अन्नपूर्ण पोष्टले लेखेको छ। मध्यपुर थिमि नगरपालिकासँगै सीमा जोडिएको सूर्यविनायक नगरपालिकामा संक्रमितको संख्या २५ जना पुगेको छ। जसअनुसार पुरुष १६ र महिला ९ रहेका छन्।

मध्यपुर थिमि नगरपछि सूर्यविनायक नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेको छ। त्यस्तै भक्तपुर नगरपालिकामा पुरुष १३ र महिला ११ गरी २४ जना तथा चाँगुनारायण नगरपालिकामा १३ पुरुष र ६ जना महिला गरी १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका प्रमुख मिजारले मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा समुदायस्तरमै संक्रमण फैलिएको अनुमान लगाएका छन्।

मध्यपुर थिमि नगरपालिकासँग सीमा जोडिएका सूर्यविनायक नगरपालिकाका वडा नं.२, ३ र ४ मा बढी संक्रमित फेला परेकाले पनि संक्रमण समुदायस्तरमा फैलिएको प्रमुख मिजारको जिकिर छ। प्रमुख मिजारले बढी संक्रमित फेला परेको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका वडाहरुमा समुदायमै कोरोना परीक्षण गर्ने योजना बनेको सुनाए। तर, दुवै नगरपालिकाले अहिल्यै समुदायस्तरमा कोरोना परीक्षण आवश्यक नभएको प्रतिक्रिया दिएको उनको भनाइ छ।
प्रकाशन मिति–२०७७ साल साउन ३२ गते आइतवार ।