ललितपुर। राष्ट्रिय पहिचान तथा धान दिवस विषयक बृहत विचार गोष्ठी संपन्न भएको छ। असार १५ गते धान दिवसको अवसरमा ललितपुरको छाःबहालमा उक्त गोष्ठी संपन्न भएको हो। स्वतन्त्र नागरिक समाज नेपाल तथा पिपलबोट डटकमको संयुक्त आयोजना र हेम विक्रम सिलवालको संयोजनमा कार्यक्रम भएको हो।

गोष्ठीमा प्राय सवै वक्ताहरुले पहिचान तथा राष्ट्र र राष्ट्रियताको धरोहरको विषयमा चर्को आवाज बुलन्द गरेका छन्। उनीहरुले विघटित राजसंस्था देखि बर्तमान केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको समेत खुलेर विरोध गरेका छन्।

पहिचान तथा राष्ट्रियताका सवालमा जुनसुकै सरकार आएतापनि नेपाली जनताले सुख नपाएको र नेपाली जनतालाई जतावाट पनि मारमा पार्ने गरेको तर्क सहित विचार प्रवाह गरेका थिए। यसो हुनुको पछाडि नेपालका शासकहरु परापूर्वकाल देखि विदेशी शक्तिको गुलाम भएको ठहर गर्दै त्यसविरुद्ध खवरदारी गर्ने कार्य समेत भएको छ।

साथमा कृषि प्रधान नेपालको पहिचानमा पहिला धान निर्यात गर्ने देश भएकोमा अहिले आयात गर्ने देशमा परेकोमा दुःख समेत व्यक्त गरेका छन्। गोष्ठीमा आफ्नो व्यक्तिगत विचार सहित तर्क राख्ने विव्दान वक्ताहरुमा केशव अधिकारी, डा.सुरेन्द्र केसी, प्रेम कैदी, डा.केबी रोकाय लगायतका रहेका थिए।

प्रकाशन मिति–२०७५ साल असार १५ गते शुक्रबार ।