चितवन। नारायणगढ–मुग्लिन सडक आज बुधवार विहानैदेखि अवरुद्ध भएको छ। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान सवा चार बजे सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। यो सडक देशको संघीय राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग हो। पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले् कान्तिपुर दैनिकको अनलाइन संस्करणलाई बताएअनुसार पानी परिरहेका कारण कालिखोलामा पहिरो खसिरहेको छ।

पहिरो गएको ठाउँमा प्रहरी टोली पगेर डोजर लैजान पहल भैरहेको छ। मुग्लिनदेखि लगभग चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालिखोला रहेको छ।
प्रकाशन मिति–२०७७ साल असार ३ गते बुधवार ।