काठमाडौ। पाकिस्तानका नव–निर्वाचित प्रधानमन्त्री इमरान खान सन्त नेता प्रधानमन्त्री जस्ता देखिएका छन्। इमरानले बैभवशाली सैन्य सुरक्षा सहितको प्रधानमन्त्री निवास छाडेका छन्। सामान्य निवासमा सरेका छन्।

इमरान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ। इमरानले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार पनि त्यस निवासमा लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५ सय २४ जना हुने गरेको छ।

सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै इमरानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएको पाकिस्तानी समाचार माध्यमहरुले उल्लेख गरेका छन्। इमरानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, त्यहाँ सुरक्षा एजेन्सीहरुले सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् ।

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार रहेको छ। इमरानले भने २ वटा मात्र प्रयोग गर्ने पनि भनिएको छ। बाँकी कार छिट्टै लिलामी गर्ने योजनामा इमरान रहेका छन्। यसवाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । सरकारी खर्च कटौतीका लागि अनेक योजना आफूसंग भएको र त्यो क्रमिक रुपमा लागू गर्ने इमरानले पाकिस्तानी समाचार माध्यमहरुलाई भनेका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ ५ गते मंगलवार ।