काठमाडौं। नेपाली चलचित्र उद्योगमा पचासको दशकका हिट दुई नायिका सारंगा श्रेष्ठ र पूजा चन्द यतिखेर नेपालमा छैनन्। दुवै नायिका दशकौदेखि नेपाल वाहिर विश्वकै बैभवशाली मुलुक अमेरिकामा रहेका छन्।

नेपाल वाहिर प्रवास अमेरिकामा यी दुई नायिकाको मिलन नेपालमा रहेजस्तै रहेको छ। दुवै अमेरिकामा बैबाहिक जीवनमा रहेतापनि आफ्ना फुर्सदका समयमा भेटघाट गर्ने गरेका छन्। अमेरिकामा हुने गरेका विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरुमा दुवैको सहभागिता हुंदैआएको छ।

नेपाली चलचित्र उद्योगकी नंबरी डान्सर हिरोइनको रुपमा ख्याति कमाएकी सारंगा श्रेष्ठको जन्म सर्लाहीमा भएतापनि कर्मथलो काठमाडौं नै बन्यो। चालिसको दशकको अन्त्यतिरवाट नेपाली समसामयिक नृत्य क्षेत्रवाट फिल्मलाइनमा आएकी सारंगाको कला यात्रा सांस्कृतिक संस्थानको जागिरे जीवनवाट पनि केही समय पुट दियो।

डान्समा अब्बल भएको कारण कला क्षेत्रमा रुप–यौवन भन्दा कलाकारिताले जित्न सकिन्छ भन्ने प्रमाण दिने कार्य सारंगावाट भएको थियो। सुनचाँदी लगायत दर्जनौ हिट चलचित्रमा सारंगाले गरेको अकबरी अभिनयले पनि सारंगा नृत्यमा मात्र नभइकन अभिनयमा पनि अबल भएको प्रमाणित गरेको थियो।

त्यस्तै नायिका पूजा चन्द पनि रुप–यौवन तथा अभिनयले धपक्क बलेकी नायिकाको रुपमा लिइने गरेको छ। काठमाडौंको थानकोटमा जन्मी–हुर्केकी पूजा चन्दका चट्याङ देखि पन्छीसम्म दर्जनौ दर्जन फिल्महरु हिट छन्।

सारंगा नृत्यमा अब्बल भएजस्तै पूजा गायनमा अब्बल रहेकी छन्। पूजाको गायनको प्रमाणको रुपमा एकताका पूजाको एक गीति एल्बम पनि बजारमा आएको थियो। कुनैबेला रेडियो नेपालमा पनि गीत गाउन पुग्ने पूजा यदाकदा अमेरिकाका सांगीतिक कार्यक्रमहरुमा पनि गीत गाउने गरेकी छन्। सारंगाको आज शनिवार परेको जन्मदिनको अवसरमा पूजाले दिल खोलेर बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।


प्रकाशन मिति–२०७७ साल असार ६ गते शनिवार ।