–बिरबल रोका क्षत्री
काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित सुर्खेतका पूर्ण बहादुर खड्का आगामी मंसीर ४ गते हुन गैरहेको संघीय निर्वाचनमा गठवन्धनको तर्फवाट कर्णाली प्रदेशको राजधानी सुर्खेतको क्षेत्र नंबर १ बाट सातौं पटक उम्मेदवार बनेका छन्। यसअघि खड्का सुर्खेतवाट पाँच पटक सांसद र पाँच पटक मन्त्रीसमेत भइसकेका छन्। एक पटक राज्य व्यवस्था समितिको सभापति समेत बनेका खड्का कर्णालीका एक बलिया खम्बा हुन।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा प्रतिबन्धित कालमा सुर्खेतको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए। पञ्चायतको पालमा प्रतिबन्धित भएपनि उनले निरन्तर राजनीतिक अभियानलाई तीव्रता दिएका थिए।

बहुदल र निर्दल बीचको चुनावको समयमा काँग्रेसले चुनावमा भाग लिने निणर्य गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए तर, उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दवाव दिए। राजाले दिएको दवाव अस्विकार गर्दा जिल्ला अदालतले उनी मेयर भएको ६ महिनामै उनको पद जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो।

विभिन्न समयमा गरेर पाँच महिना भन्दा बढि समय जेलजीवन विताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट पाँच पटक सांसदमा विजयी बने भने एक पटक पराजित बनेका थिए। २०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समनुपातिक सांसद बने। २०७० सालमा भएको चुनावमा जितेका खड्का २०७४ सालमा भने पराजित भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका खड्का राज्य संचालनमा समेत अब्बल मानिन्छन् । उनी दुइ पटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन्। सुर्खेत क्षेत्र नम्बर एकका नागरिकले विकासप्रेमी नेताको रुपमा उनलाई चिन्दै आएका छन्।

प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार ।