Taplejung.8काठमाडौ। पूर्वीनेपालको ताप्लेजुङ्गमा गएराति शुक्रबार भारी बर्षासंगै आएको पहिरोमा परेर धन–जनको ठूलो क्षति भएको छ। सोही पहिरोमा परेर ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ वर्षीय मनोज र ६ वर्षीय ललितको मृत्यु भएको हो।

Taplejung Pahiro

पहिरोमा परी बेपत्ता भएकी ताप्लेजुङ नगरपालिका–८ कि दिलकुमारी पालुङ्वा पनि मृत भेटिएसँगै मृतकको संख्या चार पुगेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार पहिरो पन्छाएर उनीहरुको शव निकालेका हुन्। दिलकुमारी पालुङ्वाकी बहिनी कृष्णकुमारी पालुङ्वा भने घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। पहिरोले ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडामा गरी करिब ५० घरमा क्षति पुगेको छ।

नगरपालिका–८ मामात्र ३२ घर पहिरोले बगाएको र १ सय ५५ जना विस्थापित भएको छ। सबै विस्थापितहरुलाई नगरपालिका–८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ। उनीहरुलाई स्थानीयले चाउचाउ र चिउरा वितरण गरेका छन् । दर्जनौं स्थानमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १८ गते शनिवार ।