नारायणगढ । पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यू आदेश जारी गरेको हो।

पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ(बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यू लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। कर्फ्यू मंगलबार बेलुका ७ः३० बजेदेखि बुधबार बेलुका ७ः३० सम्मका लागि जारी गरिएको हो। आदेशको अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने बताइएको छ।

चितवनको राप्ती नगरपालिका वडा नं३ बस्ने २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरले पूर्व पश्चिम राजमार्ग अवरुद्ध, बीच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुङगामुडा, सरकारी तथा निजी सम्पति र संरचना तोडफोड, आगजनी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकोले कर्फ्यू जारी गरिएको प्रशासनले बताएको छ।

भण्डारीको गृहक्षेत्र राप्ती नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा मंगलबार स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा केहीबेर झडप समेत भएको थियो। सो क्रममा ७ जना प्रहरी घाइते भएका छन्। प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो। उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन्। बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि बेपत्ता भएकी थिइन्। उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेकोे छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा प्रहरीले शव फेला पारेको नागरिक दैनिकको अनलाइन संस्करणमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७८ साल असार २२ गते मंगलवार ।