काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार स्थित काठमाडौं महानगरपालिका वडा नंबर ४ को नवनिर्मित भवनको उदघाटन भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा वडा नंबर ४ को नवनिर्मित भवनको उदघाटन भएको हो।

करीब ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा निर्माण भएको ४ नंबर वडा भवनको स्वरुप काठमाडौंको मौलिकतामा आधारित आधुनिक भवनको रुपमा देखिएको छ। साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिट छ। विसं.२०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर माघ २८ गते शिलान्यास भएको थियो।

वडा निर्माण अवधिमा चण्डोल ढुङ्गेधारा मानश्री (बिष्णु) मार्गबाट सेवा प्रवाह गरिएको थियो। अव नवनिर्मित भवनवाट सेवा प्रवाह हुने जानकारी वडा नंबर ४ का वडा अध्यक्ष मोहन वहादुर विष्टले दिएका छन्। उदघाटन समारोहमा मेयर शाक्यको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद नारायण सिलवाल, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा वडा सदस्य दिनेश महर्जन र ध्रुबप्रसाद त्रिपाठीले वडाको विकास र निर्माणका वारेमा प्रकाश पारेका थिए। वडा भवनको उद्घाटनपछि कोरोना महामारी व्यवस्थापनमा सहयोग गर्ने दाता, विकास निर्माण तथा व्यवस्थापनमा सघाउ गर्ने क्लव, टोल सुधार समिति र उपभोक्ता समितिहरुलाई सम्मान प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७८ साल बैशाख ११ गते शनिवार ।