कोरोनाको आक्रान्तले केही महिना शान्ति पाएको नेपालमा नयाँ बर्ष २०७८ साल बैशाख १ गतेवाट फेरि दोश्रो चरणको प्रभाव देखिन थालेको हो। नयाँ बर्षको उपहारको रुपमा भारतवाट रोजगारीवाट नेपाल फर्केका नेपालीहरु मार्फत दोश्रो चरणको कोरोना नेपालमा फैलिएको कुरा नकार्न मिल्दैन।

कोरोनाले विश्व समुदायलाई लखेटिरहेको अवस्थामा नेपालीलाई पनि जहाँवाट जसरी भएपनि लेखेट्ने क्रम जारी छ । युरोपमा कोरोनाको तेस्रो लहर चलिरहेको छ भने, पछिल्लो समय भारतमा दोस्रो लहरका कारण संक्रमण दिन–प्रतिदिन बढ्दै गएको छ । भारतसँगको खुला सिमानाका कारण नेपाल पनि जोखिममा परिरहेको छ।

भारतसंगको नेपालको खुला सिमानाका कारणले भारतमा केही समस्या देखिनासाथ त्यसको तत्काल असर नेपालमा पर्ने गरेको हो। जुन दुःखद कुरा हो। नेपालको सिमाना भारतसंग पूर्व, पश्चिम तथा दक्षिणमा जोडिएको छ।

उत्तरमा चीनको सिमाना रहेको छ। चीनको सिमाना खुला नभएको कारण कोरोनाको उदगमस्थल चीन भएतापनि नेपाललाई खासै खतरा भएन। भारतसंगको तीनतिरको खुला सिमानाको कारण नेपाललाई कोरोनाको कहरमा खतरा नै भैरह्यो। दोश्रो चरणको कोरोना कहरमा पनि पहिला जस्तै त्यस्तै खतरा हुन पुगेको छ।

बेलैमा कोरोनाको सफल व्यवस्थापन गर्न ध्यान नदिने हो भने फेरि जनजीवन ठप्प पर्ने स्थिति आउन सक्छ । गत वर्षको लामो लकडाउनबाट मुलुकको हरेक क्षेत्र अस्तव्यस्त भयो । सरकारले समयमै आवश्यक क्वारेन्टिन, आइसोलेसन, परीक्षण र औषधिको व्यवस्थापन गर्न नसक्दा आम जनताका लागि गएको वर्ष निकै पीडादायी हुन पुग्यो ।
भारतमा कोरोनाको संक्रमण उच्च छ । अन्य देशमा पनि त्रास छ ।

नयाँ भेरिएन्ट आएकाले अरू बढी सजग हुनुपर्ने आवश्यकता छ । तर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले कहिले बेसार–पानी त कहिले बेलौतीको पात उमालेर कुल्ला गरी कोरोना भगाउने जस्ता कुरा गरेर नेपाली जनतालाई कोरोना विरुद्ध लड्न उत्प्रेरणा दिइरहेको पाइन्छ। जुन उत्प्रेरणा पनि कतिपय समय औषधि नै बन्दैआएको छ।

नेपालमा कोराना विरुद्धको खोप नभित्रिदासम्म नेपाली जनता कोरोना विरुद्धको औषधिको रुपमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोलाई नै आधार मानेर गुर्जो सेवन गरेर आत्मबल बृद्धि गरेर आठ महिना लामो लकडाउन खेपेको कसैवाट छिपेको छैन्। यसको मतलव आत्मबल पनि कोरोनाको कारण आक्रान्त भएको समयमा ठूलो औषधि हो भन्न करै लागेको छ।

कोरोनाको कारण विगतको लकडाउनले व्यापार, व्यवसाय, पर्यटन, होटल, शैक्षिक एवं स्वास्थ्य क्षेत्र तहसनहस भए । कोरोना संकट सुरु भएको एक वर्षभन्दा बढी भैसके पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ । पर्यटनसहित कतिपय क्षेत्रको खर्बौंको लगानी जोखिममा परेको छ ।

लकडाउन मात्र कोरोनाको समाधान होइन भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ। लकडाउनको विकल्पमा सरकाले कडाइका साथ सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य मापदण्ड लागू गर्ने जस्ता कार्यमा ढिलाइ गर्नु हुन्न ! स्कुल–कलेज बन्द गर्न र गराउन पर्दछ भनेर हतार गर्ने सरकारले सार्वजनिक पार्क, पार्टी प्यालेस अनि जात्रा पर्वमा भोजभतेर गरेजस्तो विना मास्क तथा स्वास्थ्य मापदण्ड पालना नगरिकन भीडम भीड गर्ने नेपाली जनताको विकृतिलाई रोक्ने कार्यमा सरकार चुकिरहेको पाइएको छ।

अर्कोतर्फ सरकारले भारतसंग जोडिएको नेपालको सिमानामा कडाइ गर्न चुकिरहेको अवस्था छ। कोरोना टेष्ट गराएर मात्र नेपालमा प्रवेश गर्न लगाउने वातावरण वनाउने कार्य पहिलो कोरोनाको कहरमा जस्तै दोश्रो चरणको कोरोना कहरमा पनि सरकार चुकेकै देखिएको छ। पर्याप्त रुपमा जनचेतना अभिबृद्धि गर्न र गराउन आवश्यक छ।

कोरोनाको कहरमा लकडाउन मात्र विकल्प खोजिरहेको सरकारले लकडाउनको विकल्प पनि खोज्नु आवश्यक छ। नेपाली जनता कोरोना विरुद्ध बारम्बार लकडाउन खेप्न सक्दैन। यसतर्फ सरकारले सोच्नैपर्ने बेला भैसकेको छ।
(नामी साप्ताहिकको सम्पादकीयवाट साभार।)
प्रकाशन मिति–२०७८ साल बैशाख १२ गते आइतवार ।