काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण भएको छ। बुधवार प्रधानमन्त्री ओलीको काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा भएको हो। दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले आज बुधवार दिउँसो साँढे ४ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण सम्पन्न भएको औपचारिक जानकारी गराउँदै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र नयाँ मिर्गौलाले काम गर्न थालेको पनि बताएका छन्।

मिर्गौला दान गर्ने प्रधानमन्त्री ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट ओपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री ओलीको होस पनि खुलेको छ । बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो तीन बजेसम्म करिब पाँच घण्टा चलेको थियो। प्रत्यारोपणको करिब डेढ घण्टामा प्रधानमन्त्री ओलीको होस खुलेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीले प्रत्यारोपणपछि प्रधानमन्त्रीको सामान्य रुपमा पिसाब बाहिरिएकाले पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भएको बताएका छन् । मिर्गौला दाता भाञ्जी समीक्षा र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो । समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए। अहिले दुबैजनालाई अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपको आईसीयुमा सारिएको छ ।

प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज नहुन्जेल यहीँ राखिनेछ। चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्नेछन्। त्यसपछि तीन दिन र एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने चिकित्सकहरुको भनाइ छ । दुवै मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको शरीरमा १३ वर्ष अघि विसं.२०६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधवार दोस्रो पटक प्रत्यारोपण गरिएको हो ।


प्रकाशन मिति–२०७६ साल फागुन २१ गते बुधवार ।