काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला प्रत्यारोपण हुने भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेभएकी छन्। भाञ्जी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन्। अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा.प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ। डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५–७ दिनमा अस्पतालमा राखिन्छ।

अस्पताल स्रोतकाअनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए। प्रधानमन्त्री ओलीको विसं.२०६४ साल साउन महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले राम्रोसँग काम नगरेपछि गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका हुन।
प्रकाशन मिति–२०७६ साल फागुन १९ गते सोमवार ।