काठमाडौं। नेपालको प्राचिन तथा ऐतिहासिक नगरी काठमाडौंको साँखु स्थित शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ बन्ने भएको छ । नेपालको सम्पूर्ण कला, साहित्य, संस्कृति झल्किने गरी शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ निर्माण गर्न लागिएको हो।

शंखरापुर नगरपालिकाले डीपीआर निर्माणका लागि संगीतकार लक्ष्मण शेषको संयोजकत्वमा जेवी घले, वसन्त वित्यासी थापा र अष्ट लामासहित १५ जनाको कार्यदल गठन गरेको छ । कार्यदलले सोमवारबाट अध्ययन सुरु गरेको छ। डीपीआर तयार पारेर नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन संघीय सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ।

शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठका अनुसार, कम्तिमा १० वर्षे योजनाका रुपमा नगरपालिकाले कला सांस्कृतिक ग्रामको काम अगाडि बढाएको हो। १५ जना रहेको कार्यदलले १० दिनमा अध्ययन प्रतिवेदन बुझाउने छ। प्रतिवेदन आएपछि राष्ट्रिय नीति तथा कार्यक्रममा पारेर अगाडि बढ्ने नगरपालिकाको योजना रहेको छ।

शंखरापुर नगरपालिका कला सांस्कृतिक ग्राम नेपाल बन्यो भने यो मिनी नेपालका रुपमा रहने छ । यसमा नेपालको कला, साहित्य, संगीत, संस्कृति देखि सम्पूर्ण कुराहरु यहीँ हेर्न सकिने अध्ययन कार्यदलका संयोजक लक्ष्मण शेषको भनाई छ।

संयोजक लक्ष्मण शेष भन्छन्, “सम्पूर्ण देवीदेवताका मन्दिर र तालहरु हुनेछन्। यो देशको जिवित संंग्राहलयका रुपमा रहने छ । नेपाल आएका हरेक पर्यटकले यहाँ आएपछि नेपालबारे सम्पूर्ण जानकारी लिन सक्ने छन्।”
प्रकाशन मिति–२०७६ साल फागुन १९ गते सोमवार ।