काठमाडौं। संचालनमा ठीक्क परिसकेको पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको काठमाडौंको टेकुस्थित टेकु–कालीमाटी पुल भत्काउनुपर्ने भएको छ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका छन्। गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा पनि प्राविधिक नै नराखी ढलान गरेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले उक्त कुरा बताएका हुन्। पुल भत्काएर सोही कम्पनीले निर्माण गर्ने बताउँदै त्यसका लागि कानुनी प्रकृया समेत अघि बढाएको मन्त्री महासेठको भनाई रहेको छ।

पुलको निर्माण सम्पन्न भए पनि ६२ मिटर लामो पुल प्राविधिक हिसाबले अत्यन्तै कमजोर रहेकोले सरकारले नै संचालनमा रोक लगाएको छ। बनिसकेको पुलबाट गाडी गुडाउन निषेध गरिएको हो। पुल गतिलो नभएपछि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै संचालनमा रोक लगाउन पत्राचार गरेको थियो।

एसियाली विकास बैक (एडिबी) को २० करोड १३ लाख ऋण सहयोगमा पुल निर्माण गरिएको हो। विसं.२०७४ मंसिरमा सम्पन्न गर्ने गरी २०७१ सालमा पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माण सम्झौता भएको थियो। तर, कम्पनीले एक वर्ष ढिला गरी काम सकेको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र १३ गते बुधवार ।