काठमाडौं। कोरोना महामारीको कारण थलिएको नेपाल फेरि बन्द तथा हड्तालको मारमा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चोइटिएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्द तथा हड्तालका कारण नेपाली जनता मारमा परेको हो।

विहीवार विहानै देखि बन्द तथा हड्तालकर्ताहरुको सडक–सडकमा व्यापक सक्रियताका कारण ठाउं ठाउंमा अवरोध खडा भएको छ। प्रहरी र बन्दकर्ता वीच मुठभेडको अवस्था समेत देखिएको छ। यसैवीच सामाखुशीमा गुडिरहेको ट्याक्सीलाई रोकेर विहानै आम हड्ताल आव्हान गरेको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेको इमेज खवरले उल्लेख गरेको छ।

खवर अनुसार, प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो। प्रहरीका अनुसार, ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको खुलेको छ। ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ। बिहानै देखि हड्ताल सफल बनाउन बन्द गराउँदै हिडेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैवीच प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ। नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो । नेतृ शाक्य नेकपा प्रचण्ड–नेपाल समूहकी हुन् । प्रहरीले बन्द गराउँदै हिड्ने नेकपा प्रचण्ड–नेपाल समूहका ५६ बढी नेता कार्यकर्ताइलाई नियन्त्रणमा लिइसकेको छ।


प्रकाशन मिति–२०७७ साल माघ २२ गते विहीवार ।