ललितपुर । बन्द तथा हड्तालको आव्हानकर्ता नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड ललितपुरको सातदोबाटो चोकमा पुगेर नाराबाजी गर्ने क्रममा सञ्चारकर्मीहरुसंग उक्त कुरा वताएका हुन्।

प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको प्रचण्डको भनाई छ। यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै प्रचण्डले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ। यो संविधानको रक्षाका लागि हो।’

संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए। उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’


प्रकाशन मिति–२०७७ साल माघ २२ गते विहीवार ।