मुम्बई। माछा होइन, माछा मार्ने बल्छी चाहिन्छ। त्यो बल्छीले कंगाललाई लखपति बनाउने गर्दछ। यस्तै घटना भारतको मुम्बईमा भएको छ। मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति बनेको खवरले यतिखेर विश्व तातिएको छ।

महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए। आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे। जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले।

जालमा ३० किलो वजनको एउटा माछा थियो। माछा लिएर तटमा आइपुग्नासाथ उनीहरुले मारेको माछाको चर्चा सुरु भयो। किनकि उक्त माछा सामान्य थिएन। घोल जातको उक्त माछा दुर्लभ हुनका साथै निकै महँगो मानिन्छ। उनीहरुसँग घोल माछा रहेको हल्ला बजारभरी फैलियो ।

उक्त माछा लिलाममा बिक्री गर्ने निधो भयो। उक्त माछा खरिद गर्नका लागि व्यापारीहरुको भीड नै लाग्यो। अन्ततः एक व्यापारीले सो माछालाई साढे पाँच लाख रुपैयाँमा खरिद गरे।
यो माछा निकै स्वादिष्ट हुनका साथै बहुपयोगी गुण भएको मानिन्छ। यसमा औषधीय गुणसमेत हुन्छ।

पूर्वी एसियामा यो माछा निकै महँगोमा बिक्री हुने गर्दछ । यो माछालाई ‘सुनको मुटु भएको’ पनि भनिन्छ। यो माछा कस्मेटिक उत्पादनमा समेत प्रयोग गरिन्छ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन २३ बुधवार ।