Dilwale bibadDilwale bibad 1काठमाडौ। नेपाल र भारतमा एकसाथ शुक्रबारबाट रिलिज भएको दुई हिन्दी फिल्म बाजीराव मस्तानी र दिलवालेले नेपालका हलहरुमा तहल्का मच्चाएपनि भारतका केही शहरमा भने, यी दुवै फिल्मको व्यापक विरोध भएको छ। विरोधको कारण दुवै फिल्म भारतका केही शहरमा प्रदर्शन समेत हुन सकेन।

भारतको पुणेमा ‘बाजीराव मस्तानी’ शुक्रबार प्रदर्शन हुन सकेको छैन । विरोध प्रदर्शनका कारण सो सहरस्थित एक सिनेमा हलमा उक्त चलचित्रको शुक्रबारका सबै शो रद्द गरिएको छ। अन्य केही हलमा भने सुरक्षाकर्मीको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको छ।

सो चलचित्रमा समावेश विषयबस्तुमाथि भारतीय जनता पार्टीका स्थानीय कार्यकर्ताले आपत्ति जनाएका हुन्। उनीहरुका अनुसार चलचित्रमा बाजीरावको भूमिकालाई गलत तरिकाले देखाइएको छ। चलचित्रमा मराठा इतिहासलाई तोडमोड गरिएको आरोप पनि लगाइएको छ।

Dilwale bibad 2

त्यस्तै शाहरुख खान अभिनित ‘दिलवाले’को विरोधमा मध्यप्रदेशको जबलपुर र उत्तरप्रदेशको इलाहावादमा प्रदर्शन भएको छ। राजस्थानको भीलवाडामा पनि सो चलचित्रको विरोधमा प्रदर्शन उग्र भएपछि प्रदर्शन रोकिएको छ। उक्त चलचित्रको विरोध हुनुमा केही दिनअघि शाहरुख खानले दिएको अभिव्यक्तिलाई आधार मानिएको छ। भारतमा बढ्दो असहिष्णुताका बारेमा शाहरुखले दिएको अभिव्यक्तिको केही हिन्दुवादी संगठनले विरोध जनाएका थिए ।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।